हरितालिकामा पशुपतिनाथसहित देशभरका शिवालयमा भीड
हरितालिका तीजको अवसरमा मंगलबार बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको ठूलो भीड लागेको छ।
पशुपति क्षेत्र विकास कोषका अनुसार श्रद्धालुलाई सहज दर्शन होस् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका खोलिएका थिए। कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीका अनुसार दर्शनका लागि लाम लागेको भए पनि १५–२० मिनेटमै दर्शन गर्न सकिने व्यवस्था गरिएको छ।
मेला व्यवस्थापनका लागि करिब तीन हजार सुरक्षाकर्मी खटाइएको छ। बाहिरी भागदेखि मन्दिर प्रवेशद्वारसम्म अलग–अलग लाइनको व्यवस्था मिलाइएको छ भने श्रीयन्त्र पूजाको समयमा जालीमार्फत बाहिरैबाट दर्शन गर्ने सुविधा पनि उपलब्ध गराइएको छ।
सूचना अधिकारी अनिता भट्टका अनुसार भक्तजनले मूल मन्दिरमा प्रवेश गरेर मूर्तिअघि दर्शन गरी सहज रूपमा बाहिरिने व्यवस्थापन गरिएको छ।

Comments
Post a Comment