नेपालमा ढिलो विवाह र करिअर–प्रवृत्तिका कारण निःसन्तान समस्या बढ्दै
पछिल्लो समय करिअरलाई प्राथमिकता दिँदै ३०–३५ वर्षसम्म विवाह नगर्ने प्रवृत्ति युवतीहरूमा देखिएको छ भने, विदेश कमाइमा ध्यान दिने युवाहरूको कारण ढिलो विवाह गर्ने चलन बढेको छ। विशेषज्ञहरूका अनुसार यही ढिलाइले नेपालमा निःसन्तान (बाँझोपन) समस्या बढाउने मुख्य कारण बनेको छ।
अतीतमा बाँझोपनलाई भाग्यसँग जोडेर लुकाउने चलन थियो, तर अहिले जनचेतनासँगै औषधि उपचार र आईभीएफ (इन-भिट्रो फर्टिलाइजेसन) सेवाको माग बढ्दै गएको छ। चिकित्सकहरूका अनुसार समयमै परीक्षण, औषधि र परामर्श पाए धेरै दम्पतीले सन्तान सुख पाएका छन्।
आईभीएफ मापदण्ड लागू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै “निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड २०८२” लागू गर्दै आईभीएफ र आईयूआई सेवा सञ्चालन गर्न अनुमति अनिवार्य गरेको छ। प्रत्येक केन्द्रमा विशेषज्ञ चिकित्सक, प्रशिक्षित इम्ब्रायोलोजिस्ट, एनेस्थेसियोलोजिस्ट र आधुनिक प्रयोगशालाको व्यवस्था हुनुपर्नेछ। साथै, गरिब तथा विपन्न वर्गलाई १०% सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने प्रावधान गरिएको छ।
हाल आईभीएफको खर्च २ देखि ४ लाखसम्म पर्न सक्ने भए पनि मन्त्रालयले शुल्क एकरूप पार्ने तयारी गरेको छ। तोकिएकोभन्दा बढी शुल्क लिने संस्थामाथि कारबाही हुने चेतावनी दिइएको छ।
सिजेरियन बढ्दो प्रवृत्ति
विशेषज्ञहरूले सन्तान जन्माउने समयमा साइत हेरेर वा दबाबमा सिजेरियन गर्ने प्रवृत्ति बढेको बताए। नेपालमा अहिले ७०% सम्म सिजेरियन सेक्सन हुने गरेको छ, जुन सामान्यतया २०–२५% भन्दा बढी हुनु हुँदैन।
डाक्टरहरूको भनाइमा, नर्मल डेलिभरि नै उत्तम विकल्प हो, तर ३५–४० वर्षभन्दा माथि उमेरकी महिलामा आवश्यकताका आधारमा मात्र सिजेरियन गर्नुपर्ने हुन्छ।
स्तनपानबारे भ्रम
शिशुलाई स्तनपान गराउँदा सौन्दर्य बिग्रन्छ भन्ने जनविश्वासलाई चिकित्सकहरूले निराधार बताउँदै आमाको दूध नै नवजात शिशुका लागि सर्वश्रेष्ठ आहार भएको उल्लेख गरेका छन्।
Source:Annapurna news

Comments
Post a Comment